रौतहट पूर्वाधार कार्यालयमा बेथिति: कर्मचारी नहुँदा कार्यालय सुनसान, ३ अर्ब बजेट भएको ठाउँमा सेवाग्राही बेहाल
गौर, वैशाख २७ (दलन न्यूज) ।
मधेश प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय रौतहट यतिबेला कर्मचारीविहीन जस्तै बनेको छ। आर्थिक वर्ष सकिनै लाग्दा विकास निर्माणका योजनाहरूको चाप हुनुपर्नेमा कार्यालय प्रमुखदेखि शाखाका कर्मचारीहरू समेत नियमित उपस्थित नहुँदा सेवाग्राहीहरू मर्कामा परेका छन्।
जिल्ला प्रशासन कार्यालयको छिमेकमै रहेको यस कार्यालयमा एक साताभन्दा बढी समयदेखि कर्मचारीहरूको अनियमितता बढेको पाइएको छ।
१. योजनाको काम ठप्प, सेवाग्राहीको आक्रोश
आर्थिक वर्ष सकिन अब दुई महिना मात्र बाँकी छ। यस्तो संवेदनशील समयमा योजनाका काम लिएर पुग्ने सेवाग्राही रित्तो हात फर्कनुपरेको छ। "कर्मचारी बस्ने फाँटहरू खुला हुन्छन् तर मान्छे हुँदैनन्," दुर्गा भगवती गाउँपालिका–२ का सेवाग्राही अशोककुमार साहले गुनासो गर्नुभयो, "एउटै कामका लागि पटक–पटक धाउँदा पनि कर्मचारी भेटिँदैनन्।"
२. नेतृत्व परिवर्तन तर बेथिति उस्तै
कार्यालय प्रमुख दीपककुमार मिश्रको शहरी विकास मन्त्रालयमा सरुवा भएपछि सर्लाहीबाट आएका सिडिइ विजय यादव बुधबार हाजिर भएका थिए। तर, उनी हाजिर भएको भोलिपल्ट बिहीबार र शुक्रबार पनि कार्यालय पुनः सुनसान देखिएको स्थानीयले बताएका छन्। कार्यालय प्रमुख नै नियमित नहुँदा अन्य कर्मचारीमा पनि अनुशासनहीनता बढेको कर्मचारीहरूकै भनाइ छ।
३. ३ अर्बको बजेट, सोधपुछ कक्षसम्म छैन
झन्डै ३ अर्ब रुपैयाँ भन्दा बढी बजेट चलाउने यस महत्वपूर्ण कार्यालयमा सामान्य सोधपुछ कक्ष (Help Desk) समेत नहुँदा सेवाग्राही अन्योलमा पर्ने गरेका छन्। गौर–२ का विकासकुमार झाले भन्नुभयो, "बजेट अर्बौँको छ, तर सेवाग्राहीलाई सूचना दिने एउटा मान्छे छैन।"
४. सूचना अधिकारीको बचाउ र मन्त्रालयको प्रतिक्रिया
कार्यालयका सूचना अधिकारी अनिलकुमार साहले भने प्राविधिक कर्मचारीहरू फिल्डमा जानुपर्ने भएकाले कार्यालयमा कम देखिएको दाबी गर्नुभएको छ। यद्यपि, कार्यालयमा कार्यरत करार र ज्यालादारी कर्मचारीको यकिन विवरण समेत व्यवस्थित नरहेको पाइएको छ।
भौतिक पूर्वाधार विकास मन्त्रालय मधेश प्रदेशका निमित्त सचिव संजयप्रसाद साहले जनगुनासो आएको स्वीकार गर्दै जिल्ला प्रशासन कार्यालयले नियमित रूपमा छड्के अनुगमन गर्नुपर्ने बताउनुभएको छ।
सरकार परिवर्तनसँगै संघीय र स्थानीय तहका कार्यालयमा सुधारका सङ्केत देखिए पनि मधेश प्रदेश सरकार मातहतका कार्यालयमा भने पुरानै बेथिति र 'हाजिर गरेर गायब हुने' प्रवृत्ति कायमै रहेको स्थानीयको ठम्याइ छ।

No comments:
Post a Comment