"संसद्मा उपस्थित नहुने प्रधानमन्त्री असक्षम र असफल": श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ
काठमाडौँ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य माननीय हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहको राजीनामा माग गर्नुभएको छ। शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै राईले प्रधानमन्त्री शाहले लगातार संसद्को अवमानना गरेको र लोकतान्त्रिक मूल्यमान्यता लत्याएको आरोप लगाउँदै पदत्याग गर्न माग गर्नुभएको हो।
विज्ञप्तिमा माननीय राईले प्रधानमन्त्रीको अनुपस्थितिका चारवटा मुख्य कारणहरू औँल्याउँदै सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाउनुभएको छ:
१. संसद्बाट बाहिरिनु: वैशाख २८ गते राष्ट्रपतिले नीति तथा कार्यक्रम पढिरहेकै अवस्थामा प्रधानमन्त्री बैठक छोडेर बाहिरिएको र हलमा नफर्किएको।
२. प्रतिक्षेपक्षको मागको उपेक्षा: वैशाख ३० गते विपक्षीहरूले उपस्थिति माग गर्दा समेत संसद्मा नआएर आफ्नै कार्यालयमा बसेको।
३. संसदीय परम्पराको बेवास्ता: वैशाख ३१ गते संसद्को गतिविधि 'लाइभ' हेरेर बस्ने तर नीति तथा कार्यक्रममा उठेका प्रश्नको उत्तर दिन स्वयं उपस्थित नहुने प्रवृत्ति देखाएको।
४. जनताको सम्बोधन नगर्नु: हालसम्म संसद्को कुनै पनि बैठकमा जनतालाई सम्बोधन नगरेको।
"संसदीय इतिहासमा कालो धब्बा"
विज्ञप्तिमा भनिएको छ, "जनताको सार्वभौम सदनलाई अपमान गरेर त्यही संसद्बाट चुनिएको प्रधानमन्त्रीले कुन नैतिकताका आधारमा आफूलाई प्रधानमन्त्री ठानिरहेको छ? कर्तव्य पूरा गर्न नसक्ने, लुकेर बस्ने प्रवृत्तिले कस्तो नजिर बसाउँछ?" राईले प्रधानमन्त्रीको यस्तो व्यवहारलाई संसदीय अभ्यासको इतिहासमा 'कालो धब्बा' को संज्ञा दिनुभएको छ।
अध्यादेशको शासन र गरिबमाथि प्रहार
माननीय राईले सरकार संसद्लाई छलेर अध्यादेशको बाटो हिँड्न खोजेको भन्दै आलोचना गर्नुभएको छ। साथै, सीमा रक्षा गर्न नसकेको र सुकुम्बासी तथा गरिब जनतालाई आतङ्कित बनाएर बेघर बनाएको भन्दै सरकारको असफलता पुष्टि भएको दाबी गर्नुभएको छ।
विज्ञप्तिको अन्त्यमा, न्यूनतम कर्तव्य समेत पूरा नगरेको भन्दै प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग गरिएको छ।


No comments:
Post a Comment