धनुषाको सपहीमा स्कारपियोको ठक्करबाट स्कुटी चालक महिलाको मृत्यु, चालक नियन्त्रणमा
जनकपुरधाम, वैशाख २६ (दलन न्यूज) ।
धनुषाको ढल्केबर–जनकपुर सडक खण्ड अन्तर्गत लक्ष्मिनिया गाउँपालिका–४, सपहीचोकमा शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।
ढल्केबरबाट जनकपुरतर्फ तीव्र गतिमा गइरहेको स्कारपियो गाडीले स्कुटीलाई ठक्कर दिँदा स्थानीय ३० वर्षीया पुनम साहको ज्यान गएको हो।
घटनाको विवरण
प्रहरीका अनुसार बा.प्र. ०१–०३१ च. ९०६३ नम्बरको स्कारपियोले परीक्षणकाल (टेस्टिङ) मा रहेको विद्युतीय स्कुटीलाई ठक्कर दिएको थियो। दुर्घटनामा परेर स्कुटी चालक साह गम्भीर घाइते हुनुभएको थियो।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजाराम यादवका अनुसार घाइते साहलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो। तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए। मृतकको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ।
चालक र सवारी प्रहरी नियन्त्रणमा
दुर्घटनामा संलग्न स्कारपियो र त्यसका चालकलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–७ बस्ने ५२ वर्षीय नरेश राठी रहेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
विद्युतीय स्कुटीको बढ्दो प्रयोगसँगै राजमार्गमा हुने तीव्र गतिको सवारीले गर्दा सपही खण्डमा दुर्घटनाको जोखिम बढ्दै गएको स्थानीयले बताएका छन्।

No comments:
Post a Comment