Saturday, 9 May 2026

सहकारी सङ्कट टार्न म्याग्दे गाउँपालिकाको ‘पूर्वसतर्कता’ अभियान: २६ सहकारीका सञ्चालकलाई विशेष प्रशिक्षण

 

सहकारी सङ्कट टार्न म्याग्दे गाउँपालिकाको ‘पूर्वसतर्कता’ अभियान: २६ सहकारीका सञ्चालकलाई विशेष प्रशिक्षण



दमौली (तनहुँ), वैशाख २६ शनिबार  (दलन न्यूज) । देशभर सहकारी क्षेत्रमा वित्तीय जोखिम र बचतकर्ताको अविश्वास बढिरहेका बेला तनहुँको म्याग्दे गाउँपालिकाले सहकारीलाई सङ्कटबाट जोगाउन ‘पूर्वसतर्कता’ अभियान सुरु गरेको छ। “रोग लागेर उपचार गर्नुभन्दा लाग्नै नदिनु बुद्धिमानी हो” भन्ने मान्यताका साथ गाउँपालिकाले वैशाख २४ र २५ गते दुई दिने विशेष अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो।

​पालिकाभित्र रहेका २६ वटा सहकारीका सञ्चालक तथा प्रतिनिधिहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमले सहकारीलाई नीति, नियम र कानुन बमोजिम पारदर्शी बनाउने उद्देश्य राखेको छ।

१. सञ्चालकको जिम्मेवारी र पारदर्शितामा जोड

​कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सहकारीको साख जोगाउन सञ्चालकहरू नै सबैभन्दा बढी जिम्मेवार हुनुपर्ने बताउनुभयो। “देशका धेरै ठाउँमा समस्या देखिएपछि मात्र समाधान खोज्ने प्रवृत्ति छ, तर हामीले समस्या जन्मिनै नदिन पूर्वतयारी गरेका हौँ,” श्रेष्ठले भन्नुभयो, “सञ्चालकहरूले विधिलाई शिरोधार्य गरे बचतकर्ताको पसिना डुब्दैन।”

​त्यस्तै, गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले सहकारीको मर्म अनुसार चल्ने संस्थाहरू कहिल्यै सङ्कटमा नपर्ने उल्लेख गर्दै सदस्यहरूको हितलाई केन्द्रमा राख्न आग्रह गर्नुभयो।

२. दक्ष व्यवस्थापन र सरकारी अभिभावकत्व

​कार्यक्रममा सहभागी बाराही बचत तथा ऋण सहकारीकी व्यवस्थापक मन्जु न्यौपाने काफ्लेले व्यवस्थापन पक्ष पारदर्शी र व्यावसायिक भए मात्र संस्था सुरक्षित हुने धारणा राख्नुभयो। यस्तै, सुप्रिम सहकारीका अध्यक्ष मनोज अधिकारीले सङ्घीय सरकारले सुरु गरेको अनुगमनको प्रशंसा गर्दै स्थानीय सरकारले अभिभावकत्व ग्रहण गरिदिए विकृति स्वतः हट्ने विश्वास व्यक्त गर्नुभयो।

३. स्वनियमन र वित्तीय अनुशासन

​प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले सहकारीलाई कानुनी रूपमा सबल बनाउन नियमन र सहजीकरणलाई सँगसँगै लैजाने बताउनुभयो। प्रशिक्षणका क्रममा तनहुँ जिल्ला सहकारी सङ्घका अध्यक्ष प्रदीपराज अधिकारी र प्रशिक्षक प्रत्यूकुमार यादवले सहकारीमा स्वनियमन र वित्तीय अनुशासनको अभावले नै अहिलेको समस्या निम्तिएको चर्चा गर्नुभएको थियो।

​आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेले पारदर्शितालाई नै सहकारीको मुख्य आधार मान्नुपर्नेमा जोड दिनुभयो। यस अभियानले सहकारी क्षेत्रमा देखिएको अन्यौलता चिर्न र बचतकर्ताको गुमेको विश्वास फर्काउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

No comments:

Post a Comment

कांग्रेस मिलाउन उपसभापति विश्वप्रकाश शर्माको ७ बुँदे 'गोप्य' प्रस्ताव सार्वजनिक, केन्द्रीय सदस्यले वडाबाटै चुनाव लड्नुपर्ने

  विवाद मिलाउन विश्वप्रकाशको 'गोप्य' प्रस्ताव सार्वजनिक Dalan News Bureau  ​नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि उत्पन्न भएको ती...