हर्क साम्पाङको गर्जन: "सरकारले सुकुम्बासीमाथि डोजर आतङ्क मच्चायो, घर भत्काएर नागरिक लखेट्ने कदमको प्रतिकार गर्छौँ"
हेटौँडा, वैशाख २६ शनिबार (दलन न्यूज) ।
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राई (साम्पाङ) ले सुकुम्बासी र अव्यवस्थित बसोबासीको पक्षमा आफू सडक र सदन दुवै ठाउँबाट लड्ने उद्घोष गर्नुभएको छ। शनिबार हेटौँडा उपमहानगरपालिका–११ स्थित सुकुम्बासी बस्तीको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद साम्पाङले सरकारको पछिल्लो कार्यशैलीलाई 'निरङ्कुश' संज्ञा दिनुभयो।
पछिल्लो समय काठमाडौँलगायत विभिन्न स्थानमा सुकुम्बासी बस्तीमा डोजर चलाइएको सन्दर्भलाई लिएर उहाँले कडा आपत्ति जनाउनुभएको हो।
१. "बासको अधिकार मौलिक हक हो"
सांसद साम्पाङले नेपालको संविधानले नै प्रत्येक नागरिकलाई बासको अधिकार दिएको स्मरण गराउनुभयो। "घर बनाएर बस्ने अधिकार सबैको छ, यो मौलिक हक हो," उहाँले भन्नुभयो, "सरकारले जनतालाई आश्रय दिनुपर्नेमा उल्टै आतङ्क मच्चाउने दृष्टिले घर भत्काउनु र बेघर बनाउनु निन्दनीय छ।"
२. डोजर आतङ्क विरुद्ध 'मेची–महाकाली' एकजुट हुन आह्वान
सरकारले सुकुम्बासी बस्ती लखेट्ने र घर भत्काउने कार्यतर्फ मात्र ध्यान दिएको भन्दै उहाँले यसको विरुद्धमा मेचीदेखि महाकालीसम्मका सबै उत्पीडित नागरिकलाई एकजुट हुन आग्रह गर्नुभयो। "अरु कोही रहला वा नरहला, तर म सधैँ सुकुम्बासी र अव्यवस्थित बसोबासीको पक्षमा उभिन्छु," उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।
३. सदनमा पनि सुकुम्बासीकै मुद्दा
प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा पनि आफूले सुकुम्बासी समस्या समाधानका बारेमा स्पष्ट धारणा राखेको उहाँले बताउनुभयो। उहाँको तर्क थियो— समस्या समाधान भनेको घर भत्काउनु र जनतालाई खेदाउनु होइन, उनीहरूलाई व्यवस्थित गर्नु हो।
४. सरकारको कामको मूल्याङ्कन जनताले गर्ने
सांसद साम्पाङले सरकारका हरेक गलत कदमको खबरदारी गर्ने बताउँदै जनतालाई नतर्सन आश्वस्त पार्नुभयो। उहाँले भन्नुभयो, "जनताको साथमा म छु, सडक र सदनबाट सुकुम्बासीका सवालहरूलाई अझ सशक्त रूपमा उठाउनेछु। घर भत्काएर जनता लखेट्ने कार्य सरकार आफैँले गर्नु उचित हुँदैन।"

No comments:
Post a Comment