Wednesday, 20 May 2026

सीमा विवादले उग्र रूप लिँदा हुम्ला र बाजुराका बासिन्दाबीच भीषण झडप: ६ जना रगताम्मे, ४ गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार, कर्णाली कोरिडोर ठप्प पार्ने चेतावनी!

 

दुई जिल्लाका स्थानीयबीच भीषण झडप, ६ जना रगताम्मे! प्रमुख प्रशासकीय अधिकृत र प्रहरी कमाण्डर पनि घाइते! ४ जनालाई हेलिकप्टरबाट उद्धार गरिँदै!


Dalan News Bureau जेठ ७ गते ।

हुम्ला र बाजुरा जिल्लाको सीमावर्ती क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माण गर्ने विषयलाई लिएर दुई जिल्लाका स्थानीयवासीबीचको विवादले उग्र रूप लिएको छ। सीमा क्षेत्रमा भएको हिंसात्मक झडपमा परी ६ जना गम्भीर घाइते भएका छन् भने स्थिति नियन्त्रण बाहिर गएपछि चार जनालाई हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको छ।

​बाजुराको हिमाली गाउँपालिका–३ स्थित लाम्पाटामा दुई जिल्लाका बासिन्दाहरूबीच ढुङ्गामुढा र हतियारसहित झडप भएको हो। झडपमा परी स्थानीयवासी मात्र होइन, ड्युटीमा खटिएका एक प्रहरी अधिकारी र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत घाइते भएका छन्।

किन भयो झडप? यस्तो छ विवादको मुख्य चुरो

​हुम्लाको नाम्खा, ताजाकोट, सर्केगाड र खार्पुनाथ गाउँपालिकासँग जोडिएको सीमावर्ती क्षेत्र लाम्पाटामा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै अस्थायी प्रहरी चौकी स्थापना गर्ने निर्णय भएको थियो। सोही निर्णय अनुसार प्राविधिकसहितको टोली चौकी निर्माणका लागि जग्गा नापजाँच र संरचना बनाउन लाम्पाटा पुगेको थियो।

​तर, हुम्लाका स्थानीयवासीले बाजुरा पक्षले ‘कवाडी खोलाभन्दा वारिपट्टि (हुम्लातर्फ) आएर जबरजस्ती संरचना बनाउन खोजेको’ भन्दै तीव्र विरोध गरे। कवाडी खोलालाई सीमा मान्नुपर्ने हुम्ला पक्षको दाबी र सो क्षेत्र आफ्नो भएको बाजुरा पक्षको अडानका बीच भनाभन हुँदाहुँदै विवादले एकाएक हिंसात्मक रूप लिएको हो।



प्रशासकीय अधिकृत र प्रहरी हवल्दार पनि घाइते, ४ को अवस्था चिन्ताजनक

​जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार झडपमा परी टाउको र शरीरमा गम्भीर चोट लागेका पेमा गारा गुरुङ, लक्ष्मी गुरुङ, मीन कुँवर र नरबहादुर गुरुङलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत रिफर गरिएको छ।

​झडपकै क्रममा प्रहरी चौकी बिच्छ्यामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी र हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा समेत घाइते भएका छन्।

कर्णाली कोरिडोर बन्द गर्ने घोषणा, सीमामा सेना र प्रहरी तैनाथ

​यो घटनापछि सीमा क्षेत्रमा थप हिंसा भड्किन नदिन स्थानीय प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरी सुरक्षा व्यवस्था निकै कडा पारेको छ।

​यसैबीच, घटनाको विरोधमा हिमाली गाउँपालिकाका आक्रोशित युवाहरूले एक विज्ञप्ति जारी गर्दै बाजुरा हुँदै कर्णाली करिडोर मार्गबाट हुम्लातर्फ जाने सम्पूर्ण यातायातका साधन र उपभोग्य सामग्री ढुवानी अनिश्चितकालका लागि ठप्प पार्ने घोषणा गरेका छन्। यातायात रोकिने भएपछि हुम्लामा खाद्यान्न र अत्यावश्यक सामग्रीको संकट हुन सक्ने खतरा बढेको छ। स्थानीय प्रशासनले दुवै जिल्लाका नागरिकलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ।



No comments:

Post a Comment

कांग्रेस मिलाउन उपसभापति विश्वप्रकाश शर्माको ७ बुँदे 'गोप्य' प्रस्ताव सार्वजनिक, केन्द्रीय सदस्यले वडाबाटै चुनाव लड्नुपर्ने

  विवाद मिलाउन विश्वप्रकाशको 'गोप्य' प्रस्ताव सार्वजनिक Dalan News Bureau  ​नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि उत्पन्न भएको ती...