बाबुराम भट्टराईद्वारा प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग: अब 'स्वतन्त्र' रहने घोषणा, सुदन किरातीलाई पनि विदाई
बाबुराम भट्टराईद्वारा प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग: अब 'स्वतन्त्र' रहने घोषणा, सुदन किरातीलाई पनि विदाई
काठमाडौँ, वैशाख २५ शुक्रबार (दलन न्यूज) ।
पूर्वप्रधानमन्त्री तथा पाका राजनीतिज्ञ डा. बाबुराम भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट अलग हुने घोषणा गर्नुभएको छ। पार्टीको संरक्षकको भूमिकामा रहनुभएका भट्टराईले अब आफू कुनै पनि सांगठनिक जिम्मेवारीमा नरही 'स्वतन्त्र' रहने निर्णय गर्नुभएको हो।
शुक्रबार प्रलोपाले एक विज्ञप्ति जारी गर्दै भट्टराईको राजीनामा स्वीकृत भएको र उनको व्यक्तिगत छनौटको सम्मान गर्दै आगामी यात्राका लागि शुभकामना दिएको छ।
सांगठनिक राजनीतिबाट विश्रामको संकेत
लामो समय माओवादी आन्दोलन, नयाँ शक्ति पार्टी, जसपा र नेसपा हुँदै प्रलोपासम्म पुग्नुभएका डा. भट्टराईले पछिल्लो समय सक्रिय सांगठनिक राजनीतिभन्दा बौद्धिक र स्वतन्त्र ढङ्गले काम गर्ने रुचि देखाउनुभएको छ। पार्टीलाई पठाएको जानकारीमा उहाँले आफूलाई कुनै पनि पद वा जिम्मेवारीमा नराख्न आग्रह गर्नुभएको थियो।
सुदन किरातीको बर्हिगमन र शुभकामना
प्रलोपाले आजै अर्को एक महत्त्वपूर्ण निर्णय गर्दै अध्यक्ष परिषद् सदस्य सुदन किरातीलाई पनि शुभकामना दिएको छ। किरातीले केही समयअघि मात्रै प्रलोपा छाड्ने निर्णय गर्नुभएको थियो र उहाँ आजै औपचारिक रूपमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको छ।
एकैपटक संरक्षक र प्रभावशाली सदस्यले पार्टी छाडेपछि प्रलोपामा नयाँ नेतृत्व संकट देखिएको छ।
महाधिवेशनको तयारी
दुई प्रमुख नेताको बहिर्गमनपछि प्रलोपाले पार्टीको आगामी कार्यदिशा र योजना निर्माणका लागि छिट्टै सचिवालय बैठक आयोजना गर्ने भएको छ। उक्त बैठकले पार्टीको महाधिवेशनको मिति तय गर्ने र नयाँ सांगठनिक ढाँचा तयार गर्ने विज्ञप्तिमा उल्लेख छ।

No comments:
Post a Comment