बल्खुबाट एमाले उपाध्यक्ष बादलको दाबी: "अध्यक्ष ओलीको गिरफ्तारी र मुद्दाको प्रकृति ३३ वर्षअघिको 'दासढुङ्गा हत्याकाण्ड' कै निरन्तरता हो"
- मदन-आश्रित स्मृति सभामा बादलको गम्भीर आरोप: देशी-विदेशी शक्तिहरू केपी ओली र एमालेलाई सखाप पार्ने मिसनमा लागे, रक्षा गर्ने जिम्मा कार्यकर्ताको
काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा 'बादल' ले देशी तथा विदेशी शक्तिहरू मिलेर पार्टी नेतृत्व र अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक रूपमा समाप्त पार्ने खेल खेलिरहेको गम्भीर दाबी गर्नुभएको छ। उहाँले यस्तो सङ्कटपूर्ण घडीमा नेतृत्वको रक्षा कवच बनेर अघि बढ्नुपर्ने ऐतिहासिक जिम्मेवारी सिङ्गो पार्टी पङ्क्तिको काँधमा आएको बताउनुभएको छ।
आइतबार मदन–आश्रितको ३३ औँ स्मृति दिवसका अवसरमा काठमाडौँको बल्खुस्थित मदन नगरमा आयोजित विशेष स्मृतिसभालाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले वर्तमान राजनीतिक परिदृश्यमाथि कडा टिप्पणी गर्नुभएको हो।
गिरफ्तारी र अध्यादेश 'दासढुङ्गा' कै रूपान्तरण:
सम्बोधनका क्रममा उपाध्यक्ष बादलले विगतका केही महिनायता विकसित भएका राजनीतिक घटनाक्रमहरूलाई ३३ वर्षअघि भएको जननेता मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय दासढुङ्गा हत्याकाण्डको आधुनिक शृङ्खलासँग तुलना गर्नुभयो। 'जेन-जी' (Gen-Z) आन्दोलन, तत्कालीन सरकारका कदम, हालै ल्याइएका विभिन्न अध्यादेशहरू, मन्त्रिपरिषद्का निर्णयहरू र एमाले अध्यक्ष ओलीमाथि लगाइएका मुद्दा तथा उहाँको गिरफ्तारीको प्रकृति यसैको निरन्तरता भएको उहाँको जिकिर थियो।
"अहिले सरकारले ल्याएको अध्यादेश हेर्नुस्, मन्त्रिपरिषद्ले गरेका निर्णयहरू हेर्नुस्। हाम्रो अध्यक्षको गिरफ्तारी र उहाँमाथि लगाइएका मुद्दाहरूको प्रकृतिलाई हेर्नुस्," उपाध्यक्ष थापाले भन्नुभयो, "यी सबै घटनाहरू के हुन्? ती सबै घटनाहरू दासढुङ्गा हत्याकाण्डकै निरन्तरता हुन्। त्यसैको एउटा कडी र शृङ्खलाको रूपमा हामीले यसलाई बुझ्नुपर्दछ।"
नेतृत्व जोगाउने ऐतिहासिक कार्यभार:
मदन भण्डारी र जीवराज आश्रितलाई गुमाउनुपरेको ऐतिहासिक पीडा स्मरण गर्दै बादलले इतिहासमा जसरी तत्कालीन नेतृत्वलाई सखाप पार्ने षड्यन्त्र रचिएको थियो, ठीक त्यसै गरी अहिलेको बलियो राष्ट्रवादी नेतृत्व केपी शर्मा ओलीमाथि पनि प्रहार केन्द्रित गरिएको बताउनुभयो।
"यी सबै घटनाक्रमहरूले हामीलाई के सङ्केत गरेका छन् भने नेकपा एमालेलाई समाप्त पार्ने ठुलो अभियान देशी-विदेशी केन्द्रहरूबाट सञ्चालन भइरहेको छ," उहाँले थप्नुभयो, "त्यसैले आज एमाले र यसको मूल नेतृत्वलाई जोगाउने र आन्दोलनको रक्षा गर्ने एउटा गम्भीर र ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा उपस्थित भएको छ।"
उपाध्यक्ष थापाले पार्टीविरुद्ध भइरहेका चौतर्फी घेराबन्दी र वैचारिक एवं कानुनी आक्रमणविरुद्ध सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई सचेत र एकीकृत भएर सडक तथा सदन दुवै मोर्चामा दृढताका साथ लाग्न निर्देशनसमेत दिनुभयो।

No comments:
Post a Comment