इरान युद्ध (Day 77): लेबनान र इजरायलबीचको युद्धविराम ४५ दिन थपियो, अमेरिकासँग पुनः वार्ता गर्न तेहरान तयार
- वासिङ्टनमा बन्यो सहमति: लेबनान–इजरायल सीमामा युद्धविराम लम्बियो, ट्रम्पको आलोचनाका बीच इरानद्वारा वार्ताको ढोका खुला
वासिङ्टन/नयाँ दिल्ली ।g
इरान र अमेरिका-इजरायल गठबन्धनबीचको युद्ध ७७औँ दिनमा पुग्दा मध्यपूर्वमा कूटनीतिक सरगर्मी तीव्र बनेको छ। अमेरिकी विदेश मन्त्रालय (State Department) ले इजरायल र लेबनान (हिजबुल्लाह) बीच जारी अस्थिर युद्धविरामलाई थप ४५ दिनका लागि लम्ब्याउने सहमति भएको घोषणा गरेको छ।
वासिङ्टनमा दुई दिनसम्म चलेको सघन वार्तापछि यो सहमति जुटेको हो। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताका अनुसार दुवै पक्षबीच आगामी जुन २–३ मा चौथो चरणको राजनीतिक वार्ता हुनेछ भने मे २९ मा पेन्टागनमा दुवै देशका सैन्य प्रतिनिधिहरूबीच सुरक्षा रणनीतिबारे छुट्टै छलफल हुनेछ।
वासिङ्टनसँग फेरि वार्ता गर्न तेहरान तयार:
यसैबीच, नयाँ दिल्लीमा भइरहेको ब्रिक्स (BRICS) विदेशमन्त्रीहरूको बैठकका क्रममा इरानी विदेशमन्त्री अब्बास अराघचीले इरान अमेरिकासँगको कूटनीतिक संवादलाई अगाडि बढाउन तयार रहेको संकेत गर्नुभएको छ। केही दिनअघि इरानले पठाएको शान्ति प्रस्तावको मस्यौदालाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले "कसिङ्गर" (Piece of Garbage) भन्दै अस्वीकार गरे पनि वासिङ्टनले पुनः वार्ताका लागि भन्दै तेहरानलाई नयाँ सन्देशहरू पठाएको अराघचीले खुलासा गर्नुभयो।
"हामीलाई अमेरिकिहरूमाथि कत्ति पनि विश्वास छैन र यो नै कूटनीतिको सबैभन्दा ठुलो अवरोध हो," इरानी विदेशमन्त्रीले पत्रकारहरूसँग भन्नुभयो, "तर कूटनीतिलाई एक पटक मौका दिनका लागि अहिलेको कमजोर युद्धविरामलाई जोगाउन हामी तयार छौँ।"
युरेनियम र हर्मुज जलसन्धि मुख्य पेचिलो विषय:
वार्ताको मुख्य अड्चन इरानको युरेनियम भण्डार र हर्मुज जलसन्धिको नियन्त्रण बनेको छ। राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले आफ्नो उच्च संवर्धित युरेनियम (Highly Enriched Uranium) देशबाहिर पठाउनुपर्ने र आणविक केन्द्रहरू भत्काउनुपर्ने अडान राख्दै आएका छन्। यसअघि रुसले उक्त युरेनियम आफ्नो देशमा राख्ने प्रस्ताव गरे पनि इरानले यसबारे तत्काल कुनै निर्णय नभएको बताएको छ।
समुद्रमा तनाव कायमै:
कूटनीतिक प्रयासहरू जारी रहँदा हर्मुज जलसन्धिमा भने सैन्य तनाव कम भएको छैन। संयुक्त अरब इमिरेट्स (UAE) को तट नजिकैबाट एक चिनियाँ निजी सुरक्षा कम्पनीले सञ्चालन गरेको 'हुइ चुआन' नामक जहाजलाई इरानी अधिकारीहरूले नियन्त्रणमा लिएर आफ्नो जलक्षेत्रमा पुर्याएका छन्। इरानले हर्मुज जलसन्धिमा आफ्नो पूर्ण नियन्त्रण रहेको र अमेरिका सम्बद्ध तेल ट्याङ्करहरू जफत गर्ने अधिकार आफूसँग सुरक्षित रहेको दाबी दोहोर्याएको छ।

No comments:
Post a Comment