Saturday, 16 May 2026

वन कार्यालयको प्रारम्भिक निष्कर्ष: नवलपुरको कावासोतीमा करेन्ट लगाएर गैँडाको हत्या, अनुसन्धान सुरु

 

वन कार्यालयको प्रारम्भिक निष्कर्ष: नवलपुरको कावासोतीमा करेन्ट लगाएर गैँडाको हत्या, अनुसन्धान सुरु
नवलपुरमा वन्यजन्तुमाथि क्रूरता: २५ वर्षीय भाले गैँडालाई करेन्ट लगाएर मारियो, जग्गाधनी पक्राउ

नवलपुर ।

नवलपुरको कावासोती–१ स्याउलीस्थित मकैबारीमा मृत फेला परेको २५ वर्षीय भाले गैँडालाई करेन्ट लगाएर मारिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । डिभिजन वन कार्यालय नवलपुरले एक विज्ञप्ति जारी गर्दै गैँडाको मृत्यु प्राकृतिक नभई विद्युतीय धरापका कारण भएको जनाएको हो ।

​गैँडा मृत फेला परेको स्थान आसपास डिभिजन वन कार्यालयको टोलीले खानतलासी गर्दा सिकारी वा जग्गाधनीले वन्यजन्तु मार्न प्रयोग गर्ने सामग्रीहरू फेला पारेको थियो । घटनास्थलबाट जिआई (GI) तार बेरिएका २७ वटा बाँसका किला तथा १३ मिटर सिंगल फेज रिङसहितको तार बरामद भएको छ ।

​सोही बरामद सामग्रीका आधारमा गैँडालाई नियतवश करेन्ट लगाएर मारिएको निष्कर्षमा पुगिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी सुवास अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । विस्तृत विवरण भने पोस्टमार्टमको अन्तिम रिपोर्ट आएपछि मात्रै थाहा हुने कार्यालयले जनाएको छ ।

​जग्गाधनी प्रहरी नियन्त्रणमा:

गैँडा मारिएको घटना सार्वजनिक भएलगत्तै प्रहरी र वन प्रशासनले अनुसन्धानलाई तीव्र पारेको छ । प्रहरीले अनुसन्धानका लागि उक्त मकैबारीका जग्गाधनी भीमबहादुर दर्जीलाई नियन्त्रणमा लिएको छ । दर्जीसँग गैँडा मार्न बिछ्याइएको तार र उनको संलग्नताबारे सोधपुछ भइरहेको छ ।

​खाग र खुर सुरक्षित:

विज्ञहरूका अनुसार मारिएको गैँडाको बहुमूल्य अङ्ग खाग र खुर भने सुरक्षित अवस्थामा फेला परेको छ । प्रविधिक टोलीद्वारा पोस्टमार्टम गरिसकेपछि गैँडालाई खाल्डो खनेर डिभिजन वन कार्यालय परिसरभित्रै गाडिएको छ । नेपालमा दुर्लभ एकसिङ्गे गैँडाको संरक्षणमा चुनौती थपिएका बेला कावासोतीमा भएको यो घटनाले संरक्षणवादीहरूलाई चिन्तित बनाएको छ ।

No comments:

Post a Comment

कांग्रेस मिलाउन उपसभापति विश्वप्रकाश शर्माको ७ बुँदे 'गोप्य' प्रस्ताव सार्वजनिक, केन्द्रीय सदस्यले वडाबाटै चुनाव लड्नुपर्ने

  विवाद मिलाउन विश्वप्रकाशको 'गोप्य' प्रस्ताव सार्वजनिक Dalan News Bureau  ​नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि उत्पन्न भएको ती...