संविधान संशोधनमा कांग्रेसको नयाँ रणनीति: बालेन शाहको कार्यदल बहिष्कार गरेका 'जेनजी' युवाहरू आज गगन थापासँग सानेपामा भिड्दै !
- संविधान संशोधनमा कांग्रेसको छुट्टै कूटनीति: १८ जना जेनजी युवाहरूलाई सानेपा डाकियो, संविधानविद् तेजमान र प्रा.डा. खनाल पनि सहभागी हुने
काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशको बदलिँदो राजनीतिक परिदृश्य र संविधान संशोधनको बहसका बीच नयाँ पुस्ता (Gen Z) को आवाजलाई समेट्ने प्रयास सुरु गरेको छ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधनको विषयमा 'जेनजी' (Gen Z) अगुवाहरूसँग आज विशेष राय सुझाव लिँदै हुनुहुन्छ।
कांग्रेसको 'संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न गठित समिति' को आयोजनामा आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा उक्त छलफल कार्यक्रम डाकिएको छ।
१८ जना जेनजी अगुवाहरूलाई निमन्त्रणा:
कांग्रेस स्रोतका अनुसार नयाँ पुस्ताका विभिन्न क्षेत्रका स्थापित १८ जना जेनजी अगुवाहरूलाई औपचारिक पत्र पठाएरै सानेपा आमन्त्रण गरिएको छ। उक्त कार्यक्रममा युवाहरूको भावना बुझ्नुका साथै संवैधानिक सन्तुलन कायम राख्नका लागि संविधानविद् तेजमान श्रेष्ठ र प्राध्यापक डा. खनाल लगायतका विज्ञहरूको समेत सहभागिता रहने जनाइएको छ।
सरकारले संविधान संशोधनको बहस पत्र तयार गर्न विभिन्न पक्षसँग छलफल गरिरहँदा कांग्रेसले भने आफ्नो छुट्टै गृहकार्य तीव्र बनाएको हो। कांग्रेसले उपसभापति पुष्पा भुसालको संयोजकत्वमा कार्यदल बनाएर संविधान संशोधनका लागि देशव्यापी सुझाव सङ्कलन गरिरहेको छ। 'संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न गठित विज्ञ समिति' मा वरिष्ठ अधिवक्ता र अधिवक्ताहरू सदस्य रहेका छन्, जसले यसअघि नै दुई चरणको छलफल र संविधानविद्हरूसँग राय सङ्कलन गरिसकेको छ।
प्रधानमन्त्री बालेन शाहको कार्यदललाई झट्का:
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको सरकारी संविधान संशोधन बहसपत्र तयारी कार्यदलको छलफलमा भने कांग्रेस सहभागी भएको छैन। यसअघि असिम शाह नेतृत्वको सोही सरकारी कार्यदलले जेनजी अगुवाहरूलाई संविधान संशोधनमा राय सङ्कलनका लागि बोलाएको थियो।
तर, सरकारी कार्यदलको उक्त प्रयासलाई नयाँ पुस्ताका युवाहरूले पूर्ण रूपमा बहिष्कार गरिदिएका थिए। सरकारको मञ्च बहिष्कार गरेका तिनै जेनजी युवाहरू आज कांग्रेस सभापति गगन थापासँग टेबलमा बसेर नयाँ संविधानको रूपरेखा र युवा अधिकारका विषयमा छलफल गर्न तयार हुनुलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।

No comments:
Post a Comment