Thursday, 11 June 2026

जगदम्बा स्टिल्सले बैंक कर्जा दुरुपयोग गरी हिमालयन रि–इन्स्योरेन्सको सेयर किनेको पुष्टि, उच्च अदालतमा मुद्दा दर्ता

 

बैंक कर्जा दुरुपयोगको ठूलो खुलासा



Dalan News Bureau

​जगदम्बा स्टिल्सका सञ्चालकहरूले विभिन्न वाणिज्य बैंकहरूबाट औद्योगिक प्रयोजनका लागि लिएको करोडौँ रुपैयाँ कर्जा दुरुपयोग गरेको सनसनीपूर्ण खुलासा भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले बिहीबार उच्च अदालत पाटनको वाणिज्य इजलासमा मुद्दा दर्ता गरेको छ। जगदम्बा स्टिल्सले बैंकहरूबाट लिएको कर्जा रकम विवादास्पद व्यवसायी दीपक भट्टको व्यक्तिगत खातामा ट्रान्सफर गरेर हिमालयन रि–इन्स्योरेन्सको सेयर खरिद गरेको सीआईबीको अनुसन्धानबाट पुष्टि भएको छ।

​जग्गा बैनाको नक्कली कागज, सेयरमा लगानी

​सीआईबीको प्रतिवेदन अनुसार जगदम्बा स्टिल्सले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबीआई बैंक, कुमारी बैंक र एभरेष्ट बैंकबाट औद्योगिक प्रयोजन र जग्गा खरिदका लागि भन्दै करोडौँ रुपैयाँ कर्जा लिएको थियो। सो रकमलाई वैध देखाउन ललितपुरमा जग्गा खरिदका लागि ‘बैना’ गरिएको नक्कली कागजात बैंकमा पेस गरिएको थियो। तर, वास्तविक रूपमा भने उक्त रकम दीपक भट्टको स्वामित्वमा रहेको इन्फिनिटी होल्डिङ्सको नाममा हिमालयन रि–इन्स्योरेन्सको करिब ४५ करोड रुपैयाँ बराबरको संस्थापक सेयर खरिद गर्न प्रयोग गरिएको पाइएको छ।

​कुन बैंकको कति रकम दुरुपयोग?

​अनुसन्धानका क्रममा जगदम्बा स्टिल्सले व्यावसायिक आम्दानीभन्दा धेरै रकम व्यक्तिगत खातामा पठाएको देखिएको छ। रकम ट्रान्सफर गरिएको अवधिमा कम्पनीको व्यावसायिक आम्दानी मात्र १ करोड रुपैयाँ हुँदा बैंक कर्जाको ठूलो हिस्सा रकमान्तर गरिएको थियो:

  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंक: १३ करोड ४८ लाख १० हजार २४० रुपैयाँ।
  • नेपाल एसबीआई बैंक: ८ करोड रुपैयाँ।
  • कुमारी बैंक: १४ करोड कर्जा लिएकै दिन थप १ करोड मिसाएर १५ करोड रुपैयाँ दीपक भट्टको व्यक्तिगत खातामा भुक्तानी।
  • अन्य बैंकहरू: एभरेष्ट बैंक र कृषि विकास बैंकबाट लिएको चालू पूँजी कर्जाको रकम समेत दुरुपयोग।

​बैंकिङ कसुर र वित्तीय प्रणालीकै बदनाम हुने गरी गरिएको यो ठूलो कर्जा दुरुपयोग प्रकरणले नेपालको वित्तीय क्षेत्रमा नयाँ तरङ्ग पैदा गरिदिएको छ। उच्च अदालत पाटनमा मुद्दा दर्ता भएसँगै अब यसको कानुनी निरूपण प्रक्रिया अघि बढेको छ।

No comments:

Post a Comment

कांग्रेस मिलाउन उपसभापति विश्वप्रकाश शर्माको ७ बुँदे 'गोप्य' प्रस्ताव सार्वजनिक, केन्द्रीय सदस्यले वडाबाटै चुनाव लड्नुपर्ने

  विवाद मिलाउन विश्वप्रकाशको 'गोप्य' प्रस्ताव सार्वजनिक Dalan News Bureau  ​नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि उत्पन्न भएको ती...