चुनावी वाचा पूरा गर्यौँ, विद्यार्थी सङ्गठन खारेजी पूर्वघोषित योजना हो: शिक्षामन्त्री सस्मित पोखरेल
काठमाडौँ, वैशाख २५ शुक्रबार (दलन न्यूज) ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षण संस्थाहरूमा रहेका विद्यार्थी सङ्गठनहरू खारेज गर्ने सरकारको निर्णय चुनावी वाचापत्रकै निरन्तरता भएको स्पष्ट पार्नुभएको छ। मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले शैक्षिक क्षेत्रलाई राजनीतिमुक्त बनाउने आफ्नो पार्टीको मुख्य एजेण्डालाई सरकारले कार्यान्वयनमा ल्याएको बताउनुभयो।
पार्टीको चुनावी घोषणापत्रमा उल्लेखित बुँदाहरूलाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको उहाँको दाबी छ।
शैक्षिक सुधारका लागि खारेजी आवश्यक
मन्त्री पोखरेलले विद्यार्थी सङ्गठनहरूका कारण विद्यालय र विश्वविद्यालयहरूमा पठनपाठन अवरुद्ध हुने, तालाबन्दी हुने र शैक्षिक क्यालेण्डर नै प्रभावित हुने गरेकाले यो कदम चालिएको बताउनुभयो। उहाँले भन्नुभयो, "हामीले चुनावका बेला जनतासामु शैक्षिक क्षेत्रलाई पूर्ण रूपमा राजनीतिमुक्त बनाउने बाचा गरेका थियौँ। विद्यार्थीको काम पढ्ने हो, राजनीति गर्ने होइन। त्यसैले शैक्षिक सुधारका लागि यो ऐतिहासिक निर्णय लिइएको हो।"
खारेजीपछिको योजना
मन्त्री पोखरेलका अनुसार सङ्गठन खारेज गरिए पनि विद्यार्थीका हकहित र रचनात्मक कामका लागि विद्यालय तथा कलेजहरूमा 'विद्यार्थी परिषद्' जस्ता गैर–राजनीतिक संयन्त्रहरू विकास गरिनेछ। जसमा विद्यार्थीहरूले आफ्ना समस्याहरू प्रत्यक्ष रूपमा प्रशासन समक्ष राख्न पाउनेछन् तर ती कुनै पनि राजनीतिक दलको भ्रातृ सङ्गठनका रूपमा रहने छैनन्।
विरोधको सामना गर्न तयार
विद्यार्थी सङ्गठनहरूले यो निर्णयको विरोध गरिरहेका बेला मन्त्री पोखरेलले सरकार आफ्नो अडानबाट पछि नहट्ने संकेत गर्नुभयो। उहाँले शैक्षिक क्षेत्रको आमूल परिवर्तनका लागि केही कठोर निर्णयहरू लिनैपर्ने र यसमा अभिभावक तथा नागरिक समाजको पूर्ण साथ रहने विश्वास व्यक्त गर्नुभयो।

No comments:
Post a Comment