विद्यालयमा अब हप्ताको दुई दिन बिदा: हिउँदे र बर्से बिदा कटौती, यस्तो छ शिक्षा मन्त्रालयको नयाँ कार्यतालिका
विद्यालयमा अब हप्ताको दुई दिन बिदा: हिउँदे र बर्से बिदा कटौती, यस्तो छ शिक्षा मन्त्रालयको नयाँ कार्यतालिका
काठमाडौँ (दलन न्यूज) ।
सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरूका लागि नयाँ शैक्षिक कार्यतालिका सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को गत चैत २२ गतेको निर्णयअनुसार शैक्षिक सत्र–२०८३ देखि लागू हुने गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नयाँ व्यवस्था कार्यान्वयन गर्न सबै पालिका र विद्यालयहरूलाई निर्देशन दिएको हो।
दुई दिन बिदा दिँदा घट्न जाने पठनपाठनको समयलाई व्यवस्थापन गर्न मन्त्रालयले विद्यालयको दैनिक समय र वार्षिक बिदामा व्यापक हेरफेर गरेको छ।
१. दैनिक समय व्यवस्थापन: १५ मिनेट प्रार्थना, ३० मिनेट खाजा
नयाँ कार्यतालिकाअनुसार अब विद्यालयमा पठनपाठनलाई थप व्यवस्थित बनाइनेछ:
- प्रार्थना समय: हरेक दिन १५ मिनेट।
- खाजा समय: दैनिक ३० मिनेट।
- पूरा समय पठनपाठन: सोमबारदेखि शुक्रबारसम्म विद्यालयमा निर्धारित सबै घण्टीहरू पूरा समय सञ्चालन गर्नुपर्नेछ। शुक्रबार पनि अन्य दिन सरह नै पूरा समय पढाइ हुनेछ।
२. हिउँदे र बर्से बिदामा कटौती
हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीको वार्षिक कार्यघण्टा नपुग्ने भएपछि मन्त्रालयले अन्य बिदाहरू कटौती गरेको छ:
- बर्से र हिउँदे बिदा: साविकको ४५ दिनबाट घटाएर अब ३० दिन मात्र कायम गरिएको छ।
- परीक्षा र नतिजा: शैक्षिक सत्रको अन्त्यमा परीक्षा सञ्चालन र नतिजा प्रकाशनका लागि बढीमा १२ दिन मात्र उपयोग गर्न पाइनेछ।
३. शुक्रबार ‘परियोजना कार्य’ मा जोड
पाठ्यक्रमले तोकेको सिकाइ उपलब्धि हासिल गर्न शुक्रबारको समयलाई सिर्जनशील बनाइनेछ। शुक्रबार विद्यार्थीहरूलाई समुदाय र परिवारसँग जोडिने क्रियाकलाप, सूचना प्रविधिको प्रयोग, बहु-विषयमा आधारित परियोजना (Project Work) र प्रयोगात्मक कार्यहरूमा व्यस्त गराइनेछ। यसका लागि पाठ्यक्रम विकास केन्द्रले तयार पारेको ‘परियोजना तथा प्रयोगात्मक कार्य सञ्चालन सहजीकरण पुस्तिका, २०८२’ लाई आधार मान्न सकिनेछ।
४. सबै पालिकालाई परिपत्र
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाई र सबै ७५३ वटै पालिकाहरूलाई परिपत्र गर्दै स्वीकृत पाठ्यक्रमले तोकेको वार्षिक कार्यघण्टा (Working Hours) नघट्ने गरी कार्यतालिका मिलाउन निर्देशन दिएको छ। यो निर्णयसँगै अब आइतबार पनि विद्यालयहरू पूर्ण रूपमा बन्द रहनेछणन्।



No comments:
Post a Comment