युद्धका बीच अमेरिकाको गुप्त रणनीति: ट्रम्पका सल्लाहकारद्वारा इरानमाथि थप भीषण सैन्य आक्रमणको मस्यौदा तयार
इरान युद्ध (Day 78): लेबनानमा ४५ दिने युद्धविराम लागू भएपछि इजरायल ‘हाई अलर्ट’ मा, ट्रम्प र तेहरानबीच दाउपेच जारी
वासिङ्टन/तेहरान ।
अमेरिका र इरानबीचको सिधा युद्ध ७८औँ दिनमा प्रवेश गर्दा मध्यपूर्वमा कूटनीतिक दाउपेच र सैन्य तयारी दुवै समानांतर रूपमा अघि बढेका छन्। लेबनान र इजरायल (हिजबुल्लाह) बीचको युद्धविरामलाई थप ४५ दिनका लागि लम्ब्याइए पनि इजरायल सम्भावित ठुलो इरानी जवाफी हमलालाई लिएर उच्च सतर्कता (High Alert) मा रहेको छ।
इजरायली सञ्चारमाध्यमहरूका अनुसार लेबनान सीमामा युद्धविराम थपिए पनि उत्तरी मोर्चा शान्त हुन सकेको छैन। शनिबार मात्रै रोस हानिक्रा (Rosh HaNikra) र किरियत श्मोना (Kiryat Shmona) क्षेत्रमा इरानी 'हस्टाइल ड्रोन' घुसपैठको रिपोर्टपछि हवाई आक्रमणको साइरन बजेको थियो। जवाफमा इजरायलले दक्षिण लेबनानका अरव सलिम र सिदोन क्षेत्रमा हवाई हमला जारी राखेको छ।
ट्रम्पको टेबलमा इरान ध्वस्त पार्ने सैन्य योजना:
यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र तेहरानबीच वार्ताका संकेतहरू बाहिर आइरहँदा ह्वाइट हाउस भित्र भने सैन्य विकल्पमा पनि गृहकार्य तीव्र पारिएको छ। द न्युयोर्क टाइम्स का अनुसार ट्रम्पका वरिष्ठ सैन्य सल्लाहकारहरूले इरानसँगको कूटनीतिक गतिरोध असफल भएमा सोझै इरानी भूमिभित्र रहेका रणनीतिक केन्द्रहरू र आणविक सुविधाहरू (Nuclear facilities) लाई निशाना बनाउने गरी विस्तृत सैन्य आक्रमणको मस्यौदा तयार पारेका छन्। यस योजनामा परम्परागत हवाई हमलाले भेट्न नसक्ने गरी जमिनमुनि लुकाइएका इरानी आणविक सामग्रीहरू नष्ट गर्नेसम्मका सैन्य रणनीतिहरू सामेल छन्।
अमेरिकी जनताले युद्धको मूल्य चुकाउनुपर्छ: इरान
इरानी विदेशमन्त्री अब्बास अराघचीले ट्रम्प प्रशासनको यो युद्ध पिपासाले अमेरिकी नागरिककै ढाड सेक्ने चेतावनी दिनुभएको छ। "यो अमेरिकाले आफैँ रोजेको युद्ध (War of Choice) हो," अराघचीले भन्नुभयो, "यसका कारण अमेरिकी ट्रेजरी यिल्ड (Treasury Yields) बढेको छ, जसले गर्दा अमेरिकामा ऋण, घरजग्गाको धितो (Mortgages) र उपभोक्ता कर्जाको ब्याजदर आकासिनेछ। अमेरिकी जनताले यो युद्धको चर्को आर्थिक मूल्य चुकाउनुपर्नेछ।"
हर्मुज जलसन्धि र अन्तर्राष्ट्रिय दबाब:
यसैबीच, समुद्रमा जारी तनावलाई लिएर अन्तर्राष्ट्रिय समुदाय चिन्तित बनेको छ। चीनका विदेशमन्त्रीले तेल आपूर्तिको मुख्य नाका 'हर्मुज जलसन्धि' (Strait of Hormuz) लाई तत्काल खुला गर्न माग गर्नुभएको छ। संयुक्त राष्ट्र सङ्घ (UN) मा अमेरिका र बहराइनले हर्मुज जलसन्धिमा इरानी दादागिरी रोक्न ल्याएको मस्यौदा प्रस्तावको इरानले कडा विरोध गरेको छ। इरानले उक्त प्रस्तावलाई समर्थन गर्ने देशहरूले भविष्यमा हुने सैन्य टकरावको जिम्मेवारी लिनुपर्ने चेतावनी दिएको छ।
संयुक्त अरब इमिरेट्स (UAE) ले हालै एक विज्ञप्ति जारी गर्दै इरानले आफ्नो देशलाई लक्षित गरी करिब ३ हजार ब्यालिस्टिक मिसाइल, क्रुज मिसाइल र ड्रोन प्रहार गरेको भन्दै कडा शब्दमा भर्त्सना गरेको छ, जसका कारण युएईका भौतिक पूर्वाधारमा ठुलो क्षति पुगेको छ।

No comments:
Post a Comment