Sunday, 17 May 2026

सत्ताको खेलमा 'ब्रेक': "एमाले-कांग्रेससँग पालैपालो मिल्ने खेलमा हामी छैनौँ, कि सर्वदलीय सरकार बन्नुपर्छ कि अहिलेकै ठीक छ"— प्रचण्ड !

 प्रचण्डको कडा कूटनीति: "कांग्रेस-एमालेसँग आलोपालो मिल्ने खेलमा छैनौँ, सहमति भए सर्वदलीय सरकार, नभए प्रतिपक्षमै ठीक छ"

  • वीरेन्द्रनगरबाट प्रचण्डको घोषणा: कांग्रेसलाई बाहिर राखेर एमालेसँग वा एमालेलाई फालेर कांग्रेससँग मिल्ने नीति आजको परिस्थितिमा गलत

  • पूर्णबहादुर खड्कासँगको भेट र प्रचण्डको अडान: प्रदेश सरकार पुनर्गठनका लागि 'सर्वदलीय प्याकेज' को सर्त

  • वीरेन्द्रनगर (सुर्खेत) ।

    देशभरका प्रदेश सरकारहरू फेरबदल र नयाँ समीकरणको चर्चा चलिरहेका बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ राजनीतिक सर्त अघि सार्नुभएको छ। आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक प्रचण्डले राष्ट्रिय सहमतिको आधारमा सर्वदलीय सरकार बन्ने अवस्थामा मात्रै आफूहरू सरकारमा जाने स्पष्ट पार्नुभयो।

    ​विगतको जस्तो एउटा दललाई बाहिर राखेर अर्कोसँग मिल्ने फोहोरी खेलमा आफ्नो पार्टी सहभागी नहुने र सर्वदलीय सहमति नभए आफूहरूलाई सरकारमा जान कुनै हतारो नभएको उहाँले प्रस्ट पार्नुभयो।

    ​कांग्रेस र एमाले दुवैको प्रस्ताव इन्कार:

    पछिल्लो समय नेपाली कांग्रेस र नेकपा (एमाले) दुवैतर्फबाट प्रदेश सरकारहरू मिलेर बनाउनका लागि प्रस्ताव आइरहेको खुलासा प्रचण्डले गर्नुभएको छ। "प्रमुख पार्टीहरूले अब प्रदेशका सरकारहरू हामी मिलेर बनाऔँ भनेर कतै कांग्रेसको तर्फबाट, कतै एमालेको तर्फबाट प्रस्ताव हामीकहाँ आउने गरेको थियो र आइरहेको पनि छ," प्रचण्डले भन्नुभयो, "हिजो मात्रै कांग्रेस नेता पूर्णबहादुर खड्कासँग पनि एकछिन भेट र कुराकानी भएको थियो।"

    ​तर, नेकपाको संयोजकको हैसियतले आफूले त्यस्ता सबै एकलौटी प्रस्तावहरूलाई इन्कार गरिदिएको उहाँले बताउनुभयो। अहिले सत्ताका लागि 'यो वा त्यो' दलसँग मिल्ने खेलले जनतामा भ्रम मात्रै सिर्जना गर्ने र व्यवस्था विरोधी शक्तिहरूलाई बल पुग्ने उहाँको विश्लेषण छ।

    ​"कांग्रेसलाई बाहिर पठाएर एमालेसँग मात्रै मिलेर सरकार बनाउने वा एमालेलाई बाहिर पठाएर कांग्रेससँग मिलेर सरकार बनाउने नीति आजको परिस्थितिमा गलत छ," प्रचण्डले थप्नुभयो।

    ​प्रचण्डको बटमलाइन: 'सर्वदलीय साझा सरकार'

    यदि प्रदेश सरकारहरूमा साँच्चिकै नयाँपन र स्थिरता ल्याउने हो भने संसद्मा रहेका मुख्य शक्तिहरू एक ठाउँमा आउनुपर्ने प्रचण्डको अडान छ। कांग्रेस, एमाले, नेकपा र मधेस केन्द्रित दलहरू समेत मिलेर साझा सरकार बनाउने कुरामा मात्रै आफ्नो सहमति रहने उहाँले घोषणा गर्नुभयो।

    ​त्यसो गर्दा देशमा लोकतन्त्र, गणतन्त्रका पक्षधर तथा हिजोको विस्तृत शान्ति सम्झौता र संविधानसभाका पक्षधर सबै शक्ति एक ठाउँमा उभिने र त्यसले जनतालाई ठुलो ढाडस र राहत मिल्ने उहाँको भनाइ छ। सर्वदलीय सरकार बनेमा प्रदेशहरू पनि तुलनात्मक रूपले राम्रो र स्थिर ढंगले चल्ने अपेक्षा उहाँले गर्नुभयो।

    ​सरकार सञ्चालन गरिरहेका दलहरूलाई चुनौती दिँदै प्रचण्डले भन्नुभयो, "प्रदेश सभामा प्रतिनिधित्व भएका दलहरूको सर्वदलीय सरकार बनाउने हो भने हामी सहमत छौँ, होइन भने अहिले जसरी एमाले-कांग्रेसले चलाएका छन्, चलाउन्। हामीलाई सरकार चाहियो भनेर कुनै हतारो छैन।" अबको केही दिनमै देशमा सर्वदलीय सरकार बन्छ कि अहिलेकै सरकारहरू अगाडि बढ्छन् भन्ने कुराको पटाक्षेप हुने उहाँले उल्लेख गर्नुभयो।


    No comments:

    Post a Comment

    कांग्रेस मिलाउन उपसभापति विश्वप्रकाश शर्माको ७ बुँदे 'गोप्य' प्रस्ताव सार्वजनिक, केन्द्रीय सदस्यले वडाबाटै चुनाव लड्नुपर्ने

      विवाद मिलाउन विश्वप्रकाशको 'गोप्य' प्रस्ताव सार्वजनिक Dalan News Bureau  ​नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि उत्पन्न भएको ती...